स्थानीय

बिश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा पत्रकारका लागि स्वास्थ्य चासो, महासंघ बाँकेको सराहनीय पहल !

Samayapati

 नेपालगन्ज, बैशाख २० — विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाले विशेष कार्यक्रमको आयोजना गर्दै शनिबार नेपालगन्जमा प्रभातफेरी र स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

कार्यक्रममा करिब ९० जना पत्रकारहरूको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रमको सुरुवात बिहान सेतु विक चोक, न्यूरोडबाट प्रभातफेरीका साथ भएको थियो। ‘प्रेस स्वतन्त्रता हाम्रो अधिकार’ भन्ने नारासहितको र्‍याली नेपालगन्जका विभिन्न भाग परिक्रमा गर्दै महासंघको कार्यालय, बसपार्क नजिक पुगेर समापन भएको थियो। र्‍यालीमा सहभागीहरूले प्रेस स्वतन्त्रता कायम राख्न सबै तहका सरकार र सरोकारवालालाई सचेत रहन आग्रह गरेका थिए।

र्‍यालीपश्चात महासंघको कार्यालय परिसरमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा पत्रकारहरूको रगत, पिसाब परीक्षण, ब्लड प्रेसर लगायतका स्वास्थ्य जाँचहरू गरिएको थियो। महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कार्यक्रममा प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि सञ्चारकर्मीहरू सचेत हुनुपर्ने बताए। उनले पछिल्लो समय तनाव, निन्द्रा समस्या र उच्च रक्तचापजस्ता रोगहरू पत्रकारहरूमा बढ्दो देखिएको भन्दै यस्ता शिविरहरू आवश्यक भएको उल्लेख गरे।

कार्यक्रममा शिखर हेल्थ केयरका प्रतिनिधिले सञ्चारकर्मीहरू देशको चौथो अंगका रूपमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेकाले उनीहरूको स्वास्थ्य जाँच र परामर्शमा सहयोग गर्न पाउनु आफूहरूका लागि गर्वको विषय भएको बताए। महासंघद्वारा आयोजित कार्यक्रमले प्रेस स्वतन्त्रता दिवसको सार्थकता अझ सशक्त बनाएको सहभागीहरूको भनाइ थियो। 


प्रकाशित मिति: शनिवार, बैशाख २०, २०८२, ०३:४४:००
प्रतिक्रिया दिनुहोस्