स्थानीय

कोहलपुरमा रहेको शुभ लक्ष्मी फेन्सी पसलमा भीषण आगलागी, लाखौंको क्षति !

Samayapati

बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको शुभ लक्ष्मी फेन्सी पसलमा आइतबार बिहान अचानक आगलागी हुँदा करिब ४० देखि ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बिहान ७ बजेतिर पसलबाट एक्कासि धुवाँ र आगोको मुस्लो निस्किएपछि स्थानीयवासीले आगलागी भएको देखेका थिए।स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय कोहलपुर र दमकलको टोली घटनास्थलमा पुगेपछि करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको हो।

पसल सञ्चालक मेघराज लम्सालका अनुसार बिहान पसल खुलेको थिएन, त्यसैले मानवीय क्षति भने हुन पाएन। तर भित्र राखिएका लाखौं रुपैयाँ बराबरका फेन्सी सामग्री, लत्ताकपडा, सजावटका सामान, फर्निचरलगायत सबै सामग्री जलेर नष्ट भएका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखका अनुसार आगलागी विद्युत सर्ट सर्किटका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ।

“पसल भित्रबाट धुवाँ निस्किरहेको देखेपछि प्रहरी र दमकल बोलाइएको थियो, विद्युत लाइनबाट आगो लागेको देखिन्छ,” उनले भने। आगलागीको खबर फैलिएसँगै स्थानीय बासिन्दा र पसल नजिकैका व्यापारीहरू त्रसित बनेका थिए। पसलको ढोका बन्द भएकाले आगो नियन्त्रण गर्न सुरुवाती चरणमा कठिनाइ भएको थियो। कोहलपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका स्वयंसेवक र स्थानीय युवाहरूले आगो नियन्त्रणमा सक्रिय भूमिका खेलेका थिए।

पसल सञ्चालक लम्सालले निकै भावुक हुँदै भने, “पसल खोल्न लागेको केही मिनेट अगाडि मात्र म पुगेको थिएँ, तर ढोका खोल्न नपाउँदै आगो देखियो। केही पनि बचाउन सकिनँ, सबै स्वाहा भयो।” उनका अनुसार पसलमा नयाँ सामान भर्खर भित्र्याइएको थियो, जसमा विशेष गरी चाडपर्व लक्षित फेन्सी सामग्रीको स्टक धेरै थियो। नगरपालिकाका प्रतिनिधिहरूले आगलागी भएको स्थानको स्थलगत निरीक्षण गरेका छन्। नगर प्रमुखको तर्फबाट तत्कालीन राहतका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।

स्थानीय व्यापारीहरूका अनुसार कोहलपुर बजार क्षेत्रमा विद्युत लाइनहरूको अवस्था कमजोर रहेको र त्यसकै कारण यस्ता घटनाहरू दोहोरिइरहेका छन्। “हामीले यसअघि पनि सुरक्षित विद्युतीय संरचना बनाउनु पर्ने माग राखेका थियौँ, तर सुनुवाइ भएन,” एक व्यवसायीले गुनासो गरे। यस घटनाले बजार क्षेत्रमा विद्युतीय सुरक्षा र आपतकालीन व्यवस्थापन प्रणालीको पुनः समीक्षा आवश्यक भएको देखिएको छ।

यस्तै दुर्घटना दोहोरिन नदिन नगरपालिकाले तत्काल निगरानी र पूर्वतयारीको व्यवस्था मिलाउने तयारी थालेको जनाएको छ।यता, आगलागीको कारण थप यकिन गर्नका लागि प्रहरी अनुसन्धान जारी रहेको छ। पसल सञ्चालक लम्सालले व्यवसाय फेरि उठाउने आँट भने जनाएका छन्। 


प्रकाशित मिति: आइतवार, बैशाख ७, २०८२, ०१:२६:००
प्रतिक्रिया दिनुहोस्