स्थानीय

कर्णाली प्रदेश सरकारले आफनो एकवर्षे उपलब्धि सार्वजनिक गर्यो ।

Samayapati

कर्णाली प्रदेश सरकारले आफनो एकवर्षे उपलब्धि सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशभर जम्मा २१ किलोमिटर सडक कालोपत्रे गरिनु आफ्नो उपलब्धि मानेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७र७८ को वार्षिक उपलब्धिहरूको समीक्षा गर्दै संक्षिप्त विवरण समेत सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा नयाँ सडक निर्माण, कालोपत्रे र ट्रयाक खोल्ने काममा प्रगति भएको सरकारी निष्कर्ष छ । यो अवधिमा प्रदेशभर ७५८ किलोमिटर नयाँ सडक निर्माण गरिएको बताइएको छ ।

 


यसअघिका दुई आर्थिक वर्षमा जम्मा ८ किलोमिटर मात्रै सडक कालोपत्रे गरेको प्रदेश सरकारले गत आर्थिक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे हुनुलाई प्रदेश सरकारले ठूलो उपलब्धिका रुपमा लिएको छ । यद्यपि प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा १९ र सल्यानमा दुई किलोमिटर बाहेक अन्य जिल्लामा सडक कालोपत्रे गरेको छैन ।

प्रदेश सरकारले हालसम्म प्रदेशभर कुल ७५८।२ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । गत आर्थिक वर्षमा मात्रै प्रदेशभर कुल ११३ किलोमिटर सडक ग्राभेल गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६र७७ मा भने प्रदेशभर ४९ किलोमिटर मात्रै सडक ग्राभेल गरिएको थियो ।

दलित परिवारलाई ७६७ घर

गत आर्थिक वर्षमा प्रदेश सरकारले विपन्न दलित परिवारलाई ७६७ वटा निर्माण गरी हस्तान्तरण गरेको बताएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत दलित समुदायका विपन्न परिवारलाई ७६७ घर निर्माण गरिएको हो ।

यसैगरी, कर्णाली सरकारले एक वर्षको अवधिमा ५ हजार ७१० घरधुरीमा खानेपानी सुविधा पुर्‍याएको बताएको छ । २ हजार १४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको र नदी नियन्त्रण तटबन्धन निर्माणलगायतका उपलब्धिको सूची सार्वजनिक गरिएको छ ।

त्यस्तै, ऊर्जा तथा विद्युतीकरणबाट ३ हजार ५४० घरधुरीमा विद्युत सुविधा विस्तार गरेको, ११ वटा झोलुङ्गे पुल र ७ वटा सडक पुल निर्माण भएको प्रगति विवरणमा उल्लेख छ ।

यस्तै कर्णालीको दूध काठमाडौं निर्यात, ४० गाउँपालिकामा प्राङ्गारिक खेतीको नक्सांकन, फलफूल खेतीको क्षेत्रफल विस्तार, एक लाख खसीबोका निकासी, लक्ष्यभन्दा बढी राजस्व संकलन गरिएको प्रदेश सरकारको दाबी छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि आईसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट, एम्बुलेन्स, होल्डिङ सेन्टर एवं रणनैतिक अस्पताल निर्माणलगायत स्वास्थ्य पूर्वाधार विकास गरिएको समेत दाबी गरेको छ ।


प्रकाशित मिति: बिहिवार, श्रावण १४, २०७८, ०२:२०:००
प्रतिक्रिया दिनुहोस्