स्थानीय

खजुरा गाउपालिका ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना’ घोषित

Samayapati

बाकेको खजुरा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम भएको पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सम्पूर्ण सूचकहरू पूरा गरेपछि एक भव्य औपचारिक समारोहका बीच यो घोषणा गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीका अनुसार पालिकाभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका कुल १ हजार ३ सय ४४ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएपछि खजुरालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति बाँकेका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले खजुरा गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गर्नुभएको थियो । सो अवसरमा बाल्दै जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्कीले गाउँ–गाउँ र घर–घरमा पुगेर बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरूले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले स्वयंसेविकाहरूको सेवाभाव, समर्पण र समुदायप्रतिको योगदान अतुलनीय रहेको बताउनुभयो । कार्यक्रममा प्रतिबद्धता जनाउँदै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले आगामी दिनमा पनि पूर्ण खोपको यो अवस्थालाई निरन्तरता दिने दृढता व्यक्त गर्नुभयो । नियमित खोप कार्यक्रमलाई अझ बढी प्रभावकारी, व्यवस्थित र पहुँचयोग्य बनाइने बताउँदै अध्यक्ष विकले अभियान सफल पार्न सहयोग गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय नागरिकप्रति आभार प्रकट गर्नुभयो । वक्ताहरूले सबै बालबालिकालाई आवश्यक खोप समयमै उपलब्ध गराई स्वस्थ, सुरक्षित र रोगमुक्त समाज निर्माण गर्ने महाअभियानमा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका थिए । बाँके जिल्लामा खजुराका अतिरिक्त यसअघि नै नेपालगन्ज उपमहानगरपालिका, राप्ती सोनारी गाउँपालिका र जानकी गाउँपालिकालाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकिएको छ । उक्त घोषणा सभामा खजुरा गाउँपालिकाकी उपप्रमुख मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेल, सामाजिक विकास संयोजक कृष्णा पोखरेल, ३ नम्बर वडाका अध्यक्ष पूर्ण भण्डारी, कार्यपालिका सदस्यहरू, स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन देव नारायण उपाध्याय तथा विभिन्न वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको बाक्लो उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रवार, असार १९, २०८३, ११:१९:००
प्रतिक्रिया दिनुहोस्