स्थानीय

सरसफाइ अभियानमा खजुरा गाउपालिका

Samayapati


नेपालगंन्ज बाकेको खजुरा गाउपालिकाले घरघरमै पुगेर फोहोर संकलनको काम सुरु गरेको छ ।
खजुरालाई सफा,सुन्दर र हरियाली बनाउने उद्देश्यले फोहोर संकलन तथा व्यवस्थापन गर्ने कामको सुरु गरिएको हो । सरसफाइ विशेष अभियान अन्तर्गत सुन्दर बिहानी युवा क्लबसँग सहकार्य गरी फोहोर संकलन र व्यवस्थापनको काम सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
अब गाउँपालिकामा नियमित रुपमा घरघरमै पुगेर फोहोर संकलन गर्ने र निश्चित स्थानमा लगेर व्यवस्थापन गर्ने काम हुने गाउपालिकाले जनाएको छ । फोहोर संकलनलाई व्यवस्थित र दीर्घकालीन बनाउँदै युवाहरुको सहकार्यमा जिल्लाभर नयाँ सन्देश प्रवाह गर्ने उद्देश्यसहित फोहोर संकलन र व्यवस्थापन कार्यको सुरु गरिएको गाउँपालिकाका अध्यक्ष डम्मर बहादुर विश्वकर्माले बताए ।
गाउपालिकाको विशेष अगुवाई छुट्टै डम्पिङ साइटको टुंगो लगाउनेगरी काम अघि बढेको अध्यक्ष विक बताउछन् । उनका अनुसार डम्पिङ साइटको लागि उपयुक्त स्थानको खोजी कार्य भइरहेको छ । फोहोर व्यवस्थापनका लागि हाल गाउँपालिकाले एउटा ट्याक्टर, चालक र चार जना स्वीपरको व्यवस्था गरेको उनले बताए ।‘खजुरामा आवादी बढ्दो क्रममा रहेको छ । मानिसहरुको चहलपहल पनि बड्दो अवस्थामा रहेको छ । त्यसैले फोहोर व्यवस्थापन गर्न आवश्यक ठानेर समयमै काम थालिएको हो,’ अध्यक्ष विकले भने । खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले फोहोर व्यवस्थापनपछि खजुराको सुन्दरता थप बढ्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार फोहोर व्यवस्थापन सबैको दायित्व हो । गाउपालिकाले क्लबसँग मिलेर सुरु गरेको सकारात्मक अभियानमा सबै जोडिन आवश्यक रहेको छ ।

घरघरमै पुगेर फोहोर संकलन गरी डम्पिङ स्थलमा विसर्जन गराउने काम भने सुन्दर बिहानी युवा क्लबले गर्नेछ । हाललाई सुन्दर बिहानी युवा क्लबसँग २०८३ साल असार मसान्तसम्म सम्झौता गरी फोहोर व्यवस्थापनको काम थालिएको हो ।
गाउपालिकाले डम्पिङ साइटको व्यवस्था गर्ने, फोहोर उत्सर्जन शुल्क तोक्ने, ढुवानीका साधन उपलब्ध गराउने र क्लबले तोकिएको शुल्क उठाउने, ढुवानीका साधनमा सहकार्य गर्ने र फोहोरलाई पुनः प्रयोग गर्ने काममा पहल गर्ने सम्झौता रहेको सुन्दर बिहानी युवा क्लबका कार्यवाहक अध्यक्ष गणेश थापाले जानकारी दिए । थापाका अनुसार हाल भने क्लबले निजी जमिन भाडामा लिएर फोहोर डम्पिङ गर्दैछ । गाउँपालिकाले डम्पिङ साइटको व्यवस्था गरेमा व्यवस्थापन सहज हुने थापाको भनाइ छ ।
यसैगरी,क्लबले पनि एउटा ट्याक्टर र चालकको व्यवस्था गरेको छ । क्लबलाई ट्याक्टर सहयोग ग्रेटर नेपाल फोहोर व्यवस्थापन प्रा.लि. नामक संस्थाले गरेको हो । फोहोर व्यवस्थापनको काम चुस्त हुन सकेमा फोहोरलाई पुनः प्रयोगमा ल्याई आम्दानीको स्रोत बनाउने योजना रहेको पनि थापाले जानकारी दिए ।
क्लबले यसअघि जानकी गाउँपालिकामा पनि यस्तै खालको सहकार्य गर्दै फोहोर व्यवस्थापनको काम गर्दै आएको छ भने खेलकुद गतिविधि पनि गर्दै आएको छ ।फोहोर संकलन कार्यको सुभारम्भमा सामूहिक सहभागितामा खजुरा बजार क्षेत्रको सरसफाई पनि गरिएको थियो । जसमा खजुराका स्थानियहरुले सक्रिय सहभागिता जनाएका थिए भने फोहोर व्यवस्थापन कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यसअघि गाउँपालिकाको फोहोर व्यवस्थापन नहुँदा स्थानीय खोला नालामा जथाभावी विसर्जन गर्ने गरिएको थियो ।


प्रकाशित मिति: आइतवार, जेठ ५, २०८२, ०१:०६:००
प्रतिक्रिया दिनुहोस्