स्थानीय

सिन्धुपाल्चोक पहिरोमा पुरिएका थप एक जनाको शव भेटियो, २० जना अझै हराईरहेका छन् ।

Samayapati

साउन ३२

जुगल गाउँपालिकाको लिदीमा पहिरोमा पुरिएका थप एक जनाको शव भेटिएको छ । आइतबार बिहानदेखि हराइरहेकाहरुको खोजी गर्ने क्रममा थप एक जनाको शव भेटिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार १४ वर्षका हिन्दोस दोङको शव भेटिएको हो । योसँगै अहिलेसम्म सात बालक, पाँच बालिका, चार महिला र तीन पुरुष गरी १९ जनाको शव भेटिएको छ । अझै पनि २० जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको गाउँपालिकाले जनाएको छ ।हराइरहेकाहरुको खोजीको लागि एक्स्काभेटर लैजाने तयारी पनि भएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले मिलेर हराइरहेकाहरुको खोजी गरिरहेका छन् । पहिरोबाट प्रभावित लिदीका एक सय ७२ घरधुरीमध्ये अति जोखिममा परेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी पनि गरिएको छ । क्षति भएका र जोखिममा रहेका घरको तथ्याङ्क सङ्कलनको काम पनि भइरहेको छ । गाउँपालिकाकाका योजना सल्लाहकार रामबाबु नेपालका अनुसार लिदीको बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएको र दीर्घकालीन रूपमा पालिका, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सार्ने वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभएको छ ।


प्रकाशित मिति: आइतवार, श्रावण ३२, २०७७, ०२:२८:००
प्रतिक्रिया दिनुहोस्