स्थानीय

रोल्पाका आगलागी पीडितको बिचल्ली ।

Samayapati

त्रिवेणी गाउँपालिका–२ पिरालेकी पार्वती सेन ठकुरी मङ्गलवार बैंक खाता खोल्न गाउँपालिकाको केन्द्र जुँगार जानुभएको थियो, त्यही दिन दिउँसो जङ्गलमा लागेको आगो गाउँ पस्दा उहाँको घर सखाप पार्‍यो । अहिले जलेको घर हेरेर बस्नेबाहेक उहाँसँग अरू कुनै उपाय छैन । पार्वतीका जस्तै धेरैको अवस्था अहिले यस्तै छ । आगलागीबाट त्रिवेणी गाउँपालिका २ पिराले, बर्तीबाङ र चेत्रेका ४२ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा भएका सामानहरू जलेर नष्ट भएका छन् । १६ बाख्रा, सात गाई र एउटा सुँगुर जलेर मरेका छन् ।सोमवार धनबाङको जङ्गलबाट सुरु भएको आगो गाउँमा पसेपछि पिराले गाउँ नै सखाप पारेको हो । जङ्गलमा लागेको आगो नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन लागे पनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताउनुभयो ।आगलागी भएको ठाउँमा बुधवार रेडक्रसको टोलीले गैरखाद्य सामग्री वितरण गरेको छ भने गाउँपालिका र वडा कार्यालयले केही खाद्यान्न वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डी।बी। घर्तीले जानकारी दिनुभयो ।आगलागीबाट घरबारविहीन भएका यहाँका अग्नि पीडितहरू अहिले गाँस, बास र कपासका लागि हारगुहार गरिरहेका छन् । यस्तो बेलामा सबैले सहयोग गर्न त्रिवेणी गाउँपालिका २ का वडाध्यक्ष कविराज बुढाले आग्रह गर्नुभयो ।


प्रकाशित मिति: बिहिवार, बैशाख १६, २०७८, ०२:०८:००
प्रतिक्रिया दिनुहोस्